काठमाडौं । नेपाली कांग्रेसमा १५औँ महाधिवेशनलाई लिएर संस्थापन र संस्थापनइतर समूहले छुट्टाछुट्टै कार्यतालिका अघि सारेका छन्। विशेष र नियमित महाधिवेशनको विवादबाट विभाजित कांग्रेसमा अब दुवै पक्षले आ–आफ्नो प्रक्रियाबाट महाधिवेशन गर्ने तयारी थालेका हुन्।
विशेष महाधिवेशनबाट गगनकुमार थापा नेतृत्वमा आएको कांग्रेसले यसअघि नै आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। उक्त कार्यतालिकाअनुसार भदौ २४ गतेदेखि वडा अधिवेशन सुरु गर्ने तयारी भइरहेको छ।
यता, पूर्वसभापति शेरबहादुर देउवा पक्षसँग निकट संस्थापनइतर समूहले बुधबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको ‘१५औँ केन्द्रीय महाधिवेशन तयारी समिति’को दोस्रो बैठकबाट छुट्टै कार्यतालिका प्रस्ताव गरेको छ।
प्रस्तावित कार्यतालिकाअनुसार मंसिर २१, २२ र २३ गते काठमाडौंमा १५औँ महाधिवेशन गर्ने तयारी छ। त्यसका लागि असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन गर्ने प्रस्ताव गरिएको छ।
त्यस्तै, कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने प्रस्ताव छ।
चार समिति गठनको प्रस्ताव
इतर समूहले महाधिवेशन तयारीका लागि भदौ १८ गतेभित्र चारवटा महत्वपूर्ण समिति गठन गर्ने प्रस्तावसमेत अघि सारेको छ।
प्रस्तावित समितिमा केन्द्रीय निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन तथा व्यवस्थापन समिति, विधान संशोधन समिति र अनुशासन समिति छन्।
त्यस्तै, महिला संघ, नेपाल विद्यार्थी संघ, तरुण दल, दलित संघ र आदिवासी जनजाति महासंघलगायत भ्रातृ संस्थाका तदर्थ समिति गठन गर्ने प्रस्ताव पनि कार्यपत्रमा समेटिएको छ।
महाधिवेशनको तयारीका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने, भदौ २० गतेभित्र प्रतिनिधिलाई जिल्लामा पुर्याउने तथा भदौ २५ गतेभित्र जिल्ला अधिवेशन तयारी समिति गठन गर्ने प्रस्ताव छ।
क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधानका लागि असोज ९ गतेसम्मको समयसीमा प्रस्ताव गरिएको छ। १४औँ महाधिवेशनमा सहभागी भएका, त्यसै महाधिवेशनबाट १५औँमा सहभागी हुने निर्णय भएका तथा निर्धारित समयभित्र सदस्यता नवीकरण वा नयाँ क्रियाशील सदस्यता लिएका सदस्यलाई अधिवेशनमा सहभागी गराउने प्रस्ताव पनि अघि सारिएको छ।
‘अदालतले बाटो नरोकेपछि महाधिवेशन गर्नुपर्छ’
इतर समूहका नेता मीन विश्वकर्माले सर्वोच्च अदालतले महाधिवेशन प्रक्रिया रोक्न आदेश नदिएपछि आफूहरूले पनि महाधिवेशनको तयारी अघि बढाएको बताएका छन्।
उनका अनुसार संस्थापन पक्षले एकलौटी रूपमा महाधिवेशनको कार्यतालिका अघि बढाएपछि साझा कार्यतालिकाका लागि प्रयास गरिएको थियो। तर केन्द्रीय नेतृत्वबीचको विवाद तल्लो तहसम्म पुग्ने अवस्था देखिएपछि छुट्टै कार्यतालिका ल्याउनुपरेको उनको भनाइ छ।
यद्यपि कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरीले दुवै पक्षबीच संवादबाट १५औँ महाधिवेशन संयुक्त रूपमा गर्न सकिने सम्भावना अझै रहेको बताएका छन्। उनका अनुसार सभापति थापा सबैलाई मिलाएर अघि बढ्न सकारात्मक छन्।
देउवा–गगन मिलाउन शेखरको पहल
कांग्रेस नेता डा. शेखर कोइराला भने संस्थापन र इतर पक्षले अघि सारेका छुट्टाछुट्टै कार्यतालिकालाई एउटै बनाउन संवादमा जुटेका छन्।
कोइरालाले पूर्वसभापति देउवासँग भेटेर १५औँ महाधिवेशन साझा रूपमा सम्पन्न गर्ने विषयमा छलफल गरिसकेका छन्। देउवासँगको छलफल सकारात्मक रहेको जानकारी कोइरालाले आफूनिकट नेताहरूलाई गराएको बताइएको छ।
कोइरालाले सभापति गगन थापासँग समेत संवाद गरेर पार्टीलाई एकताबद्ध रूपमा महाधिवेशनतर्फ लैजानुपर्ने प्रस्ताव अघि सारेका छन्।
उनको प्रस्तावमा १४औँ महाधिवेशनबाट आएका वरिष्ठ नेताहरूको क्रियाशील सदस्यता नवीकरण सहज बनाउने र महाधिवेशनका लागि गठन हुने समितिहरू सहमतिका आधारमा बनाउने विषय समेटिएको छ।
त्यस्तै, केही दिनका लागि संस्थापन पक्षले अघि बढाएको महाधिवेशन प्रक्रिया सार्ने र देउवा पक्षले समानान्तर महाधिवेशनको तयारी रोक्ने वातावरण बनाएर साझा महाधिवेशनतर्फ जाने विकल्पमा समेत छलफल भइरहेको बताइएको छ।
कांग्रेसको आधिकारिक कार्यतालिकाअनुसार भने १५औँ महाधिवेशन असोज १६–१९ मै गर्ने तयारी अघि बढिसकेको छ।
यसरी कांग्रेसमा एकातिर समानान्तर रूपमा महाधिवेशनको तयारी अघि बढेको छ भने अर्कोतिर शीर्ष नेताहरूबीच साझा महाधिवेशनका लागि संवाद पनि चलिरहेको छ। त्यसैले आगामी केही दिनमा हुने शीर्ष तहको सहमतिले कांग्रेसको महाधिवेशन एउटै मितिमा हुन्छ वा दुई धारमा अघि बढ्छ भन्ने टुंगो लाग्ने देखिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्