काठमाडौं, ६ असोज । चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) का विदेश विभाग प्रमुख सोङ ताओको टोली नेपाल आइपुगेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निमन्त्रणमा आज चिनिया टोली नेपाल आइपुगेको हो ।
चिनियाँ टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेकपाका स्कुल विभाग उपप्रमुख डा. बेदुराम भुषाल र विदेश विभाग उपप्रमुख विष्णु रिजालले स्वागत गर्नुभयो।
ताओ भ्रमणको क्रममा दुई कम्युनिस्ट पार्टीबीच कम्युनिस्ट अनुशासन, समाज रुपान्तरण र विकास तथा समृृद्धिका एजेण्डामा आज र भोलि काठमाडौँमा अन्तरक्रिया हुन लागेको छ । आज साँझ ५ बजेबाट सुरु हुने कार्यक्रमको संयोजन नेकपाको स्कूल विभागले संयोजन गरेको छ । कार्यक्रमका सहभागी पनि विभागले छनौट गरेको छ ।
अन्तरक्रिया गोष्ठीमा चिनियाँ कम्युनिस्ट पार्टीको तर्फबाट विदेश विभाग, संगठन विभाग र स्कुल विभाग र विज्ञहरुले प्रशिक्षण दिनेछन् । कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीको तर्फबाट करिव ४० जना सहभागि हुने छन् । नेपालको तर्फबाट करिब दुई सय नेता सहभागि हुनेछन् । नेकपाको तर्फबाट सचिवालय, स्थायी कमिटीका सबै सदस्य र नेकपाका सबै मन्त्रीसहित केही केन्द्रीय कमिटी सदस्य र केही बुद्धिजिविहरु कार्यक्रका सहभागी छन् ।
दुई दिने गोष्ठीमा चिनियाँ कम्युनिस्ट नेता तथा विज्ञहरुले चार शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नेछन् । कार्यक्रमको अध्यक्षता स्कूल विभाग प्रमुख ईश्वर पोखरेलले गर्नुहुनेछ भने कार्यक्रमको सञ्चालन सोही विभागका उपप्रमुख देवेन्द्र पौडेलले गर्नुहुने कार्यक्रम तय भएको छ । अन्तरक्रिया कार्यक्रममा उद्घाटन मन्तव्य नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले राख्नुहुनेछ ।
अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको तर्फबाट ‘कि नोट स्पीच’ र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख ताओले पनि ‘कि नोट स्पीच’ राख्ने कार्यक्रम रहेको छ । उद्घाटन सत्रपछि पहिलो सेसनमा ‘कम्प्लिटिङ द बिल्डिङ अफ मोडरेट्ली कम्फर्टेबल सोसाइटी’ शीर्षकमा चिनियाँ कम्युनिस्ट पार्टी स्कूलका काओ लीले आफ्नो प्रस्तुति राखेसँगै सोमबारको कार्यक्रम समापन हुने छ ।
प्रतिक्रिया दिनुहोस्