काठमाडौं, ५ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्रीको पछिल्लो कदमले निम्त्याएको राजनीतिक संकटमा तत्काल आफूले केही नबोल्ने बताउनुभएको छ ।
देशको राजनीतिक अवस्था गम्भीर मोडमा पुगे पनि त्यसबारे प्रधानमन्त्रीसँग छलफल गर्न बाँकी नै रहेकाले केही नबोल्ने उहाँले प्रष्ट पार्नुभयो । पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका नेता गौतमका स्वकीय सचिव दीपक टमटाका अनुसार पछिल्लो राजनीतिक विषयमा नेता गौतमले तत्काल केही प्रतिक्रिया नदिने भन्नुभएको छ । “नेता गौतमको प्रतिक्रियाका लागि चौतर्फी मिडियाबाट कल आए पनि उहाँले आधिकारिक धारणा तत्काल सार्वजनिक नगर्ने भन्नुभएको छ” टमटाले भन्नुभयो । सामाजिक सञ्जालमा आएको एक स्टाटसबारेमा समेत नेता गौतमलाई जानकारी नभएको स्वकीय सचिव टमटाले जानकारी दिनुभयो ।
अहिले नेकपा गम्भीर संकटमा पुगेको बताउनुहुँदै उपाध्यक्ष गौतमले तत्काल पार्टी र सरकारको विषयमा हतारोमा कुरा राख्दा अझ समस्या बल्झिने बताउनुभएको छ । आफ्नो सचिवालयसँग अनौपचारिक कुरा गर्नुहुँदै नेता गौतमले आवश्यक परे केही समयपछि औपचारिक धारणा सार्वजनिक गरिने बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्