काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा प्राप्त भ्रष्टाचार तथा अनियमिततासम्बन्धी २ हजार ५६६ उजुरीमध्ये १ हजार ८५४ वटा फर्छ्योट गरेको जनाएको छ। यो कुल उजुरीको करिब ७२ प्रतिशत हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको केन्द्रले आफ्नो २५औँ वर्ष प्रवेशका अवसरमा गत आर्थिक वर्षमा सम्पादन गरेका काम समेटिएको वार्षिक प्रतिवेदन बुधबार प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष पेस गरेको हो।
केन्द्रका अनुसार फर्छ्योट गरिएका उजुरीमा आर्थिक वर्ष २०८१/८२ बाट जिम्मेवारी सरेर आएका ४२९ उजुरीसमेत समावेश छन्। भ्रष्टाचार, अनियमितता तथा सार्वजनिक सेवामा देखिएका बेथितिसम्बन्धी सूचनाको छानबिन र उजुरी फर्छ्योटलाई केन्द्रले प्राथमिकतामा राख्दै आएको जनाएको छ।
१ हजार ५७७ सरकारी कार्यालयमा छड्के अनुगमन
केन्द्रले गत आर्थिक वर्ष देशभरका १ हजार ५७७ सरकारी कार्यालयमा छड्के अनुगमन गरेको जनाएको छ।
अनुगमनका क्रममा तोकिएको समयमा कार्यालयमा उपस्थित नभएका तथा समयपालना नगर्ने ९ हजार ६९७ कर्मचारी र तोकिएको पोसाक नलगाउने १ हजार ४०४ कर्मचारी गरी कुल ११ हजार १०१ कर्मचारीमाथि आवश्यक कारबाहीका लागि सम्बन्धित निकायलाई लेखी पठाइएको छ।
केन्द्रले कर्मचारीको समयपालना र पोसाकको अनुगमनसँगै सार्वजनिक प्रशासनमा हुने विभिन्न प्रकारका अनियमितता नियन्त्रणका लागि नियमित निगरानी गरिरहेको जनाएको छ।
फाइल ट्र्याकिङदेखि सरकारी सवारीसम्म निगरानी
केन्द्रले सरकारी कार्यालयमा हुने सेवा प्रवाहलाई प्रभावकारी बनाउन आचारसंहिता पालना, फाइल ट्र्याकिङ, सरकारी सवारीसाधनको प्रयोग र बिचौलिया नियन्त्रण लगायतका विषयमा समेत दैनिक निगरानी गर्दै आएको जनाएको छ।
सार्वजनिक कार्यालयमा सेवाग्राहीले अनावश्यक झन्झट व्यहोर्न नपरोस् र सेवा प्रवाहमा पारदर्शिता कायम होस् भन्ने उद्देश्यले यस्ता गतिविधिमा निगरानी बढाइएको केन्द्रको प्रतिवेदनमा उल्लेख छ।
५ हजारभन्दा बढीले बुझाएनन् सम्पत्ति विवरण
सार्वजनिक पदमा रहेका व्यक्तिले अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी व्यवस्थाको कार्यान्वयनमा पनि केन्द्रले निगरानी गरेको छ।
केन्द्रका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ७ लाख ६७ हजार ३३ जनाले सम्पत्ति विवरण पेस गरेका थिए। तर ५ हजार २६५ जनाले सम्पत्ति विवरण पेस नगरेको पाइएको छ।
सम्पत्ति विवरण पेस नगर्ने सार्वजनिक पदाधिकारी तथा कर्मचारीको विवरण पहिचान गरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाउने व्यवस्था रहेको केन्द्रले जनाएको छ।
ठूला आयोजनामा प्राविधिक परीक्षण
केन्द्रले राष्ट्रिय गौरव तथा ठूला आयोजनाको प्राविधिक परीक्षणलाई समेत प्राथमिकता दिएको छ।
गत आर्थिक वर्षमा केन्द्रले नियमित अनुगमन गरेका १८४ आयोजना तथा प्राविधिक विश्लेषण गरेका ६ आयोजनामा कार्यान्वयनका क्रममा देखिएका कमीकमजोरी र सम्भावित जोखिम पहिचान गरेको जनाएको छ।
प्राविधिक परीक्षणका क्रममा देखिएका कैफियत तथा कमजोरी सुधार गर्न सम्बन्धित निकायलाई ‘नन-कन्फरमेन्स रिपोर्ट’ सहित पत्राचार गरिएको केन्द्रले जनाएको छ।
यसका साथै विभिन्न सहरमा प्राविधिक जनशक्तिका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरी आयोजना निर्माण तथा कार्यान्वयनमा गुणस्तर र पारदर्शिता कायम गर्न केन्द्रले पहल गरेको छ।
सेवाग्राहीको सन्तुष्टि मापन गर्न क्यूआर कोड
केन्द्रले सार्वजनिक सेवा प्रवाहको गुणस्तर सुधारका लागि ‘सार्वजनिक सेवा सन्तुष्टि मापन फारम’ सञ्चालनमा ल्याएको छ।
सेवाग्राहीले क्यूआर कोडमार्फत आफूले प्राप्त गरेको सरकारी सेवाबारे प्रतिक्रिया तथा सन्तुष्टिको स्तर जानकारी गराउन सक्ने व्यवस्था गरिएको केन्द्रले जनाएको छ।
यसबाट सरकारी कार्यालयमा सेवा लिन आउने नागरिकको अनुभव प्रत्यक्ष रूपमा संकलन गरी सेवा प्रवाहमा सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
जिल्ला र स्थानीय तहसम्म भ्रष्टाचारविरुद्ध अभियान
भ्रष्टाचारविरुद्ध जनचेतना अभिवृद्धि गर्न केन्द्रले जिल्ला तथा स्थानीय तहसम्म सदाचार शिक्षा र सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ।
केन्द्रका अनुसार भ्रष्टाचार नियन्त्रण केवल सरकारी निकायको निगरानीबाट मात्र सम्भव नहुने भएकाले नागरिकस्तरमा समेत सदाचार र जवाफदेहिताको संस्कार विकास गर्न आवश्यक छ।
२५औँ वर्षमा प्रवेश गरेको राष्ट्रिय सतर्कता केन्द्रले आगामी दिनमा उजुरी छानबिन, सरकारी कार्यालयको अनुगमन, प्राविधिक परीक्षण, सेवा प्रवाहको मूल्याङ्कन तथा भ्रष्टाचारविरुद्ध जनचेतनामूलक कार्यक्रमलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ।
गत आर्थिक वर्षको तथ्याङ्कले केन्द्रको निगरानीको दायरा व्यापक रहेको देखाए पनि उजुरी फर्छ्योटपछि भएका कारबाही, अनियमितताबाट भएको आर्थिक क्षतिको असुली तथा सुधारका सिफारिस कति कार्यान्वयन भए भन्ने विषय भ्रष्टाचार नियन्त्रणको प्रभावकारिता मापन गर्ने अर्को महत्वपूर्ण आधार बन्ने देखिन्छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्