बाँदरको आतङ्कले खेती छाड्दै जैमिनीका किसान, अनुदानभन्दा नियन्त्रणको माग
गलकोट (बागलुङ) । जैमिनी नगरपालिकाका किसान बाँदरको आतङ्कबाट हैरान भएका छन्। वर्षभरि मेहनत गरेर लगाएको खेती बाँदरले केही घण्टामै नष्ट गर्न थालेपछि किसानले अनुदानभन्दा पहिले बाँदर नियन्त्रणको प्रभावकारी योजना ल्याउन नगरपालिकासँग माग गरेका छन्।
जैमिनी क्षेत्रका किसानका अनुसार मकै, धान, कोदो, गहुँदेखि तरकारीबालीसम्म बाँदरले नष्ट गर्ने गरेको छ। खेती जोगाउन खेतमै दिन बिताउनुपर्ने अवस्था आएपछि कतिपय किसान कृषि पेसाबाटै विस्थापित हुने जोखिम बढेको छ।
स्थानीय किसान सकसबहादुर क्षेत्रीले छ महिनासम्म लगाएको खेती एकै दिनमा बाँदरले सखाप पार्ने गरेको बताए। अनुदानमा पाएको बिउसमेत उत्पादन गरेर घर भित्र्याउन नपाउने अवस्था रहेको भन्दै उनले अनुदानमुखी कार्यक्रमभन्दा बाँदर नियन्त्रणलाई प्राथमिकता दिन नगरपालिकासँग माग गरे।
अर्का किसान पदमबहादुर श्रीसले नगरप्रमुखलाई ‘बाँदर पार्क खै ?’ भन्दै प्रश्न गरे। उनका अनुसार बाँदर गाउँमा पस्ने क्रम बढ्दै जाँदा मानिस भने बसाइँ सरेर बाहिरिन थालेका छन्।
खेत जोगाउनै मुस्किल
श्रीसका अनुसार बाली पाक्ने समयमा पनि किसानले उत्पादन भित्र्याउनेभन्दा बाँदर धपाउन बढी समय खर्चिनुपर्छ।
“घरभित्रै छिरेर भकारीको अन्नसमेत नष्ट बनाउँछ । हामीलाई त हैरानै पारिदियो । हुनेखाने सहर छिरे, हामी किसान कता जाने ?” उनले भने।
किसान काशीराम आचार्यले पनि मल, बिउ र अन्य अनुदान दिनुभन्दा पहिले किसानले लगाएको खेती जोगाउने वातावरण बनाउनुपर्ने बताए।
“हामीलाई मल, बिउ वा अनुदानका कार्यक्रमभन्दा पहिले हामीले लगाएको खेती बाँदरबाट जोगाइदिनुस्,” उनले भने।
‘बाँदर बगैँचा’ योजना कानुनी अड्चनमा
जैमिनी नगरपालिकाले बाँदर नियन्त्रणका लागि ‘बाँदर बगैँचा’ निर्माणको अवधारणा अघि सारेको छ। तर बाँदरलाई नियन्त्रणमा लिएर निश्चित क्षेत्रमा राख्ने कानुनी व्यवस्था स्पष्ट नभएकाले योजना कार्यान्वयनमा समस्या आएको नगरप्रमुख नरबहादुर पुनले बताए।
उनका अनुसार जैमिनीमा बाँदरका कारण खेतीपाती गर्न कठिन हुँदै गएको विषय नगरपालिकाले गम्भीर रूपमा लिएको छ। बाँदरलाई खेतीयोग्य बस्तीबाट टाढा राख्ने उद्देश्यले निश्चित क्षेत्रमा आकर्षित गर्ने योजना बनाइए पनि कानुनी र प्राविधिक जटिलताले काम अघि बढ्न सकेको छैन।
नगरउपप्रमुख हरिहर शर्माका अनुसार बाँदर व्यवस्थापन स्थानीय तहको सीमित स्रोतसाधनबाट मात्रै सम्भव छैन। छिस्तीको पुरानो गाउँ क्षेत्रमा पूर्वाधार निर्माण गरी बाँदरलाई आवश्यक पर्ने फलफूलका बिरुवासमेत रोपिएको भए पनि कानुनी तथा प्राविधिक तयारी पूरा नहुँदा योजना अघि बढ्न नसकेको उनले बताए।
बसाइँसराइ बढ्ने चिन्ता
किसानले बाँदरका कारण खेतीयोग्य जमिन बाँझिँदै गएको र गाउँबाट मानिस बसाइँ सर्ने क्रम बढ्न थालेको बताएका छन्। खेतीबाटै जीविकोपार्जन गर्ने परिवारका लागि बाँदरको समस्या झन् गम्भीर बन्दै गएको उनीहरूको भनाइ छ।
किसानले तत्काल प्रभावकारी नियन्त्रणको उपाय खोज्न, आवश्यक परे कानुनी व्यवस्था संशोधन गर्न र ‘बाँदर बगैँचा’ जस्ता योजनालाई व्यवहारमा कार्यान्वयन गर्न माग गरेका छन्।
किसानको माग स्पष्ट छ—अनुदानभन्दा पहिले खेती जोगाउने व्यवस्था गरियोस्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्