काठमाडौं । अमेरिकाको कडा भिसा नीतिका कारण अमेरिकी कलेज तथा विश्वविद्यालयमा विदेशी विद्यार्थीको संख्या उल्लेख्य रूपमा घट्न सक्ने एक अध्ययनले देखाएको छ।
एसोसिएसन फर इन्टरनेसनल एडुकेटर्स (एनएएफएसए) र जेबी इन्टरनेसनलको संयुक्त रिपोर्टअनुसार सन् २०२६ को हिउँदे सत्रमा अमेरिकामा करिब १ लाख १० हजार विदेशी विद्यार्थी घट्न सक्ने अनुमान गरिएको छ।
विद्यार्थी संख्या घट्दा अमेरिकी स्थानीय अर्थतन्त्रमा करिब ३.४ अर्ब अमेरिकी डलरको क्षति हुन सक्ने र झन्डै ३९ हजार रोजगारी प्रभावित हुने रिपोर्टमा उल्लेख छ।
सन् २०२५–२६ को हिउँदे सत्रमा अमेरिकामा करिब ११ लाख ६९ हजार विदेशी विद्यार्थी अध्ययनरत थिए। यो संख्या सन् २०२६–२७ सम्म घटेर करिब १० लाख ५७ हजारमा पुग्न सक्ने अनुमान गरिएको छ।
अर्थतन्त्रमा पनि असर
रिपोर्टअनुसार सन् २०२५–२६ मा विदेशी विद्यार्थीले अमेरिकी अर्थतन्त्रमा करिब ४१.७७ अर्ब अमेरिकी डलर योगदान गरेका थिए। कडा भिसा नीतिको प्रभावका कारण यो योगदान सन् २०२६–२७ मा घटेर करिब ३८.३७ अर्ब डलरमा सीमित हुन सक्ने अनुमान छ।
एनएएफएसएका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत फान्टा आवले अमेरिकी नीति र नियमले विदेशी विद्यार्थीले आफ्नो भविष्य कहाँ बनाउने भन्ने निर्णयमा प्रत्यक्ष प्रभाव पार्ने बताएकी छन्। यस्ता नीतिगत निर्णयले अमेरिकी समाज र अर्थतन्त्रमा अल्पकालीन तथा दीर्घकालीन प्रभाव पार्न सक्ने उनको भनाइ छ।
भिसा प्रक्रियामा प्राथमिकता परिवर्तन
रिपोर्टमा अमेरिकी विदेश मन्त्रालयले भिसा प्रक्रियामा अपनाएको प्राथमिकता परिवर्तनलाई पनि विदेशी विद्यार्थी घट्नुको एउटा कारणका रूपमा उल्लेख गरिएको छ।
यसअघि व्यस्त सिजनमा विद्यार्थी तथा शोधकर्ताका भिसा आवेदनलाई प्राथमिकता दिइँदै आएकोमा पछिल्लो समय विद्यार्थीको तुलनामा फिफा विश्वकपका टिकटधारीलाई भिसा प्रक्रियामा प्राथमिकता दिइएको रिपोर्टमा उल्लेख छ।
यसले विद्यार्थीलाई समयमै भिसा प्राप्त गर्न कठिनाइ हुन सक्ने र विश्वविद्यालयमा भर्ना तथा अध्ययन सुरु गर्ने योजना प्रभावित हुन सक्ने अध्ययनले देखाएको छ।
नीतिगत अनिश्चितता र भिसा प्रक्रियामा आएको परिवर्तनले विदेशी विद्यार्थीलाई अमेरिका अध्ययनको गन्तव्यका रूपमा रोज्ने निर्णयमा पुनर्विचार गर्न बाध्य पार्न सक्ने रिपोर्टको निष्कर्ष छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्