काठमाडौँ । नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेका छन्।
प्रचण्डले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत समाचार लेखेकै आधारमा राज्यले विधि र प्रक्रिया नअपनाई पत्रकार श्रेष्ठलाई धरपकड गर्नु लोकतन्त्रको उपहास भएको बताएका हुन्।
उनले लेखेका छन्, ‘नेपालको स्थापित पत्रिका जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा निश्चित विधि र प्रक्रिया नअपनाई राज्यद्वारा धरपकड गरिनु लोकतन्त्रको उपहास हो। उहाँलाई तत्काल रिहाइको माग गर्दछु।’
श्रेष्ठलाई बुधबार राति ललितपुरस्थित निवासनजिकबाट प्रहरीले पक्राउ गरेको हो। वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरी परिसरको संयुक्त टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउअघि काठमाडौँ प्रहरी परिसरले अदालतबाट श्रेष्ठविरुद्ध पक्राउ पुर्जी लिएको थियो।
के आरोप छ श्रेष्ठमाथि ?
श्रेष्ठ जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक र सम्पादक हुन्। उनी प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्षसमेत हुन्।
श्रेष्ठमाथि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरकान्त चौधरी र एक युवतीबीच चुम्बन गरिरहेको तस्बिर सार्वजनिक गरेको आरोप छ। ती युवतीले व्यक्तिगत गोपनीयता हनन भएको भन्दै काठमाडौँ प्रहरीमा जाहेरी दिएकी थिइन्।
युवतीले भिडियो सन्देशमार्फत उक्त तस्बिर गलत तरिकाले जोडेर सामाजिक सञ्जालमा भ्रम फैलाइएको र त्यसमा कुनै सत्यता नभएको दाबी गरेकी छन्।
पत्रकार श्रेष्ठको पक्राउसँगै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र व्यक्तिगत गोपनीयताको अधिकारबीचको सीमाबारे समेत बहस सुरु भएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्