रोल्पा । अविरल वर्षाका कारण थबाङ गाउँपालिका–५ बोटलबारामा पहिरो जाँदा घर तथा गोठ पुरिएर दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा थबाङ–५ बोटलबाराका १८ वर्षीया शान्ति पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगर रहेका छन्।
पहिरोमा परी सोही स्थानका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर घाइते भएका छन्। उनीहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
साउन २७ गते दिउँसोदेखि परेको लगातारको वर्षाका कारण पहिरो गएको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएपछि प्रहरी टोली राति नै घटनास्थल पुगेको थियो।
प्रहरी र स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरी उपचारका लागि स्वास्थ्य संस्थामा पठाइएको छ।
प्रारम्भिक विवरणअनुसार पहिरोले बोटलबारा क्षेत्रमा छवटा घर तथा गोठमा पूर्ण क्षति पुर्याएको छ। घटनाको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्