रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा गएको पहिरोमा १० जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार बेपत्ताको खोजी तथा उद्धार कार्य जारी छ।
बुधबार राति गएको पहिरोले घर तथा गोठ पुरिँदा यसअघि दुई जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए। घटनास्थल रोल्पा र बागलुङ जिल्लाको सीमा क्षेत्रनजिक पर्छ।
प्रहरीको प्रारम्भिक विवरणअनुसार पहिरोले पुरिएका छवटा घरमा रहेका १० जना सम्पर्कविहीन छन्। घटनास्थलमा बुधबार रातिदेखि नै प्रहरी टोली परिचालन गरिएको थियो।
बिहीबार बिहानदेखि सुरक्षा निकायका टोली र स्थानीयवासीले बेपत्ताको खोजी गरिरहेका छन्। प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीका अनुसार जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूको टोलीसमेत घटनास्थल पुगेर खोजी तथा उद्धार कार्यमा जुटेको छ।
घटनास्थल पुग्न कठिन
घटनास्थल जिल्ला सदरमुकामबाट करिब २१ कोश टाढा रहेको र रोल्पा–बागलुङ सीमा क्षेत्रनजिक पर्ने भएकाले उद्धार तथा खोजी कार्य चुनौतीपूर्ण बनेको बताइएको छ।
यसअघि पहिरोमा परी थबाङ–५ बोटलबारा निवासी १८ वर्षीया शान्ति पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगरको मृत्यु भएको थियो। घाइते २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगरको उपचार भइरहेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्