काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ।
सरकारी संयन्त्र प्रयोग गरी श्रेष्ठमाथि गरिएको व्यवहार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकार आचारसंहिता तथा नेपालको संविधानविपरीत भएको महासंघको ठहर छ।
महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा श्रेष्ठ पक्राउ परेलगत्तै समाचारको स्रोत खोज्न प्रहरीले राति करिब १ बजे उनको घर र बिहानै कार्यालयमा खानतलासी गरेको जानकारी प्राप्त भएको उल्लेख छ।
समाचारमा चित्त नबुझेका विषयमा आवश्यक प्रक्रिया अघि बढाउने अधिकार प्रेस काउन्सिल नेपालमा रहेको महासंघले स्मरण गराएको छ।
महासंघले विज्ञप्तिमा भनेको छ, ‘यो घटनाले लोकतान्त्रिक मूल्य–मान्यता र स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यतामाथि प्रहार गरेको’ भन्दै सरकारको स्वेच्छाचारी शैलीप्रति खेद व्यक्त गरिएको छ।
श्रेष्ठलाई तत्काल रिहा गर्न माग
महासंघले प्रेसविरोधी व्यवहार सच्याउँदै पत्रकार श्रेष्ठलाई तत्काल बिनासर्त रिहा गर्न माग गरेको छ।
त्यस्तै, प्रेस स्वतन्त्रताको सम्मान गर्न र समाचारको विषयवस्तुसम्बन्धी विवाद भए प्रेस काउन्सिलमार्फत आवश्यक प्रक्रिया अवलम्बन गरी समाधान खोज्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
आफ्नो क्षेत्राधिकारको प्रभावकारी प्रयोग गर्दै प्रेस तथा पत्रकारको अधिकार संरक्षणमा भूमिका निर्वाह गर्न महासंघले प्रेस काउन्सिल नेपाललाई समेत आग्रह गरेको छ।
महासंघका अनुसार पत्रकार श्रेष्ठलाई बुधबार साउन २७ गते राति करिब ९ बजे ललितपुरस्थित निवासबाट प्रहरीले पक्राउ गरेको हो। उनी अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्