काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय अनुशासन समितिले पार्टीको निर्णय र निर्देशनविपरीत बागमती प्रदेश सरकारमा मन्त्री बनेका तीन प्रदेशसभा सदस्यसँग स्पष्टीकरण मागेको छ ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयअनुसार प्रदेशसभा सदस्यहरू राजु विष्ट, राजेन्द्र प्रजापति र गीरबहादुर तामाङलाई ‘किन कारबाही नगर्ने’ भन्दै १२ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको हो ।
राप्रपाका अनुसार पार्टीको निर्णय र निर्देशनविपरीत बागमती प्रदेश सरकारमा मन्त्री पदको शपथ लिएको विषयमा उनीहरूसँग स्पष्टीकरण मागिएको हो ।
यसअघि राप्रपाका संसदीय दलका नेता उद्धव थापाले निजी लेटरप्याड प्रयोग गरी पार्टीको तर्फबाट बागमती प्रदेश सरकारलाई समर्थन गरेको विषयमा पार्टीले कारबाही गरिसकेको जनाएको छ ।
थापाको पार्टी सदस्यता निलम्बन गर्नुका साथै प्रदेशसभा सदस्य पदबाट समेत पदमुक्त गरिएको राप्रपाले जनाएको छ ।
पार्टीको निर्णय तथा निर्देशन उल्लङ्घन गरेको पुष्टि भए तीनै सांसदविरुद्ध अनुशासनात्मक कारबाही अघि बढाउने राप्रपाले संकेत गरेको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्