धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आगामी बजेट आवश्यकता र प्राथमिकताका आधारमा तय गरिने बताएका छन्।
दार्चुलाका स्थानीय तहका प्रमुखहरूसँग आगामी बजेट तथा विकास निर्माणका विषयमा छलफल गर्दै मुख्यमन्त्री भट्टले नीति, विधि, पद्धति र प्रणालीअनुसार योजना छनोट तथा कार्यान्वयन गरिने बताएका हुन्। उनले प्रदेश गौरवका आयोजना, बहुवर्षीय योजना तथा दीर्घकालीन महत्त्वका सडक र पूर्वाधार निर्माणलाई प्राथमिकता दिइने बताए।
मुख्यमन्त्री भट्टले विकास निर्माणका नाममा टुक्रे तथा खरिद–बिक्री केन्द्रित योजना बनाउने प्रवृत्तिको अन्त्य गर्ने प्रतिबद्धता जनाए।
‘विकास निर्माणका नाममा टुक्रे तथा खरिद–बिक्री केन्द्रित योजना बनाउने प्रवृत्तिको अन्त्य गर्दै नीति, विधि, पद्धति र प्रणालीअनुसार योजना छनोट तथा कार्यान्वयन गरिनेछ,’ उनले भने, ‘प्रदेश गौरवका आयोजना, बहुवर्षीय योजना तथा दीर्घकालीन महत्त्वका सडक र पूर्वाधार निर्माणलाई प्राथमिकता दिइनेछ।’
अघिल्लो सरकारले असार १ गते प्रस्तुत गरेको बजेट पारित हुन नसकेपछि सुदूरपश्चिम प्रदेश अहिले बजेट शून्यताको अवस्थामा छ। यस्तो अवस्थामा चाँडो र उपयुक्त बजेट ल्याउने तयारीस्वरूप सरकारले नयाँ बजेटको गृहकार्य गरिरहेको छ। यही क्रममा मुख्यमन्त्री भट्टले दार्चुलाका स्थानीय तहका प्रमुखहरूसँग आगामी बजेटका आवश्यकता र प्राथमिकताबारे छलफल गरेका हुन्।
छलफलमा प्रदेश र स्थानीय तहबीचको समन्वय, आगामी बजेटको प्राथमिकता, विकास निर्माणका आयोजना, स्वास्थ्य सेवा सुधार, सुशासन तथा योजना कार्यान्वयनलगायत विषयमा विस्तृत छलफल भएको थियो।
मुख्यमन्त्री भट्टले महाकाली करिडोरसँग जोडिएका आयोजना तथा बहुवर्षीय सडकलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने बताए। विकास निर्माणमा हुने भ्रष्टाचार, अनियमितता र बिचौलियाको अन्त्य गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।
स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारको प्रमुख प्राथमिकतामा राखिएको बताउँदै उनले जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी स्वास्थ्य सेवामा सुधार गर्नुपर्ने बताए। दार्चुलाको गोकुलेश्वर अस्पतालको सेवा सुधार गर्दै आवश्यकताअनुसार प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गर्न पहल गरिने उनले बताए।
स्थानीय तहको सिफारिस र आवश्यकताका आधारमा योजना छनोट हुनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री भट्टले प्रदेशबाट विनियोजन भएका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताए। प्रदेशका आफ्नै आर्थिक स्रोत वृद्धि गर्दै विकासलाई उत्पादनसँग जोड्नुपर्ने आवश्यकतासमेत उनले औँल्याए।
प्रदेशका विभिन्न क्षेत्रमा उल्लेख्य विकास निर्माणका काम भइरहे पनि प्रदेश सरकारप्रति नकारात्मक धारणा देखिनुका कारण पहिचान गरी सुधार गर्नुपर्ने उनको भनाइ थियो।
जीर्ण तथा अलपत्र योजनाको व्यवस्थापन तथा योजना छनोट र कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न सरकार गम्भीर रहेको उनले बताए।
छलफलमा दार्चुलाका स्थानीय तहका प्रमुखहरूले सुशासनमा जोड दिँदै बहुवर्षीय तथा ठूला योजनालाई प्राथमिकता दिन सुझाव दिएका थिए। स्थानीय तहको आवश्यकता र प्राथमिकताका आधारमा योजना छनोट गर्नुपर्ने तथा प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय हुनुपर्नेमा उनीहरूले जोड दिएका थिए।
छलफलमा मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामी, महाकाली नगरपालिकाका नगर प्रमुख नरसिंह चैसिर, मालिकार्जुन गाउँपालिकाका अध्यक्ष हिरासिंह धामी, शैल्यशिखर नगरपालिकाका नगर प्रमुख विजय सिंह धामी, व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामी, दुहुँ गाउँपालिकाका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडाल, लेकम गाउँपालिकाका अध्यक्ष रामदत्त जोशीलगायत स्थानीय तहका प्रमुखहरूको सहभागिता थियो।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्