काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्याय माग्न अदालत पुग्ने नागरिकलाई समयमै न्याय दिलाउने वातावरण निर्माण गर्नु न्याय क्षेत्रसँग सम्बन्धित सबै पक्षको साझा दायित्व भएको बताएका छन्।
तनहुँ जिल्ला अदालत बार एकाइले आइतबार दमौलीमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश शर्माले प्रभावकारी न्याय सम्पादनका लागि बार र बेञ्चबीचको सहकार्य र समन्वय महत्वपूर्ण हुने बताएका हुन्।
उनले न्यायालयप्रति नागरिकको विश्वास कायम राख्न न्याय सम्पादन प्रक्रियालाई थप प्रभावकारी, व्यवस्थित र जनमैत्री बनाउनुपर्नेमा जोड दिए।
“न्याय सम्पादन सबैको साझा जिम्मेवारी भएकाले यसमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक छ,” प्रधानन्यायाधीश शर्माले भने, “बार र बेञ्चबीचको सहकार्यबाट मात्रै प्रभावकारी न्यायिक निरूपण सम्भव हुन्छ।”
प्रधानन्यायाधीश शर्माले न्याय माग्दै अदालत पुग्ने नागरिकले समयमै न्याय पाउने वातावरण सिर्जना गर्न न्यायालय, कानुन व्यवसायी तथा न्याय क्षेत्रसँग सम्बन्धित सबै पक्षले आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने बताए।
उनका अनुसार न्याय सम्पादनलाई प्रभावकारी र नागरिकमैत्री बनाउन सम्बन्धित निकाय र पक्षबीच निरन्तर सहकार्य तथा समन्वय आवश्यक छ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेले न्यायपालिकाको गरिमा, स्वतन्त्रता र विश्वसनीयता कायम राख्न बार र बेञ्चबीच निरन्तर संवाद र सहकार्य हुनुपर्नेमा जोड दिएका थिए।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्