काठमाडौं । सरकारले बाढी प्रभावित नागरिकलाई सहयोग गर्न चाहने व्यक्ति तथा संस्थालाई प्रधानमन्त्री राहत कोषमा मात्रै रकम जम्मा गर्न आग्रह गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले देश तथा विदेशबाट सहयोग गर्न चाहने दातालाई रकम पठाउनुअघि प्रधानमन्त्री राहत कोषको आधिकारिक क्युआर कोड यकिन गर्न आग्रह गरेका हुन्।
“देश–विदेशबाट सहयोग गर्न खोज्नुभएको छ। त्यसमा पनि एक चोटि आधिकारिक क्युआर हेरेर प्रधानमन्त्री राहत कोषमा मात्र जम्मा गरिदिनुहुन आग्रह गर्न चाहन्छु,” पोखरेलले भने।
उनले सहयोग रकमसम्बन्धी आधिकारिक विवरण अर्थ मन्त्रालयले चाँडै सार्वजनिक गर्ने जानकारी दिए। नेपालभित्र तथा विदेशमा रहेका नेपालीबाट बाढी प्रभावितका लागि उत्साहजनक सहयोग प्राप्त भइरहेको उनको भनाइ छ।
सरकारको अहिलेको मुख्य प्राथमिकता खोज तथा उद्धार कार्य रहेको पनि प्रवक्ता पोखरेलले बताए। प्रभावित क्षेत्रमा राहत तथा आवश्यक सामग्री पुर्याउने कामसमेत तीव्र रूपमा अघि बढाइएको उनले जानकारी दिए।
यस्तै, विभिन्न मित्रराष्ट्र तथा बाह्य निकायबाट प्राप्त हुने सहयोगका विषयमा परराष्ट्र मन्त्रालयमार्फत आवश्यक समन्वय भइरहेको सरकारको भनाइ छ।
सरकारले बाढीपीडितको नाममा हुन सक्ने अनधिकृत रकम संकलन वा गलत क्युआर कोडबाट हुने ठगीबाट सचेत रहँदै सहयोग रकम प्रधानमन्त्री राहत कोषको आधिकारिक माध्यमबाट मात्रै जम्मा गर्न सबैमा आग्रह गरेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्