काठमाडौं, १० वैशाख । कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सोमबार प्रदेशसभामा प्रस्तुत भएको छ ।
नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार, पर्यटन र जलविद्युतको विकास गरी कर्णाली प्रदेशलाई मुलुककै समृद्ध प्रदेश निर्माण गर्ने संकल्प लिइएको छ ।
मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले शनिबार सम्पन्न कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको नीति तथा कार्यक्रम आइतबार प्रदेश प्रमुख दुर्गाकेशर खनालसमक्ष पेश गरेपछि सोमबार प्रदेश प्रमुख खनालले प्रदेशसभामा प्रस्तुत गरेका हुन् ।
प्रस्तुत नीति तथा कार्यक्रममा प्रदेशमा पेट्रोलियम पदार्थको उत्खनन् गर्ने, उज्यालो कर्णाली अभियानलार्इ अगाडि बढाउने,सीप तथा श्रम स्कुल खोल्ने जस्ता कार्यक्रम तय गरिएको छ ।
यस्तै बर्दिया–सुर्खेत सुरुङ मार्ग निर्माण गर्न पूर्व सम्भाव्यता अध्ययनका लागि संघीय सरकारसँग अनुरोध गर्ने, प्रत्येक स्थानीय तहमा जनघनत्व हेरी कम्तिमा १५ शैय्याको अस्पताल स्थापनाको प्रक्रिया अगाडि बढाउने । एक वर्षमा प्रदेशलाई सडक बालबलिकामुक्त प्रदेश बनाउने गरी अभियान संचालन गर्ने, हाई अल्टिच्युड एकेडेमी सम्बन्धी अध्ययन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
प्रदेश र संघ एवं प्रदेश र स्थानीय साझेदारीमा सम्पन्न गर्न सकिने तथा प्रदेश स्वयमले सञ्चालन गर्ने सम्भावित आयोजनाहरुको सूची परियोजना बैंक तयार गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्