पोखरा, २३ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई सम्मृद्धि र विकास तर्फ लैजान राजनीतिक दलहरु सत्ता पक्ष र प्रतिपक्षको रुपमा बिभाजित हुन नहुने बताएका छन् । देशको विकासका लागि सबै सत्तापक्ष हुनुपर्ने उनले बताएका छन् ।
नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ४ को नवनिर्वाचित नेतृत्वको आयोजित पदस्थापन कार्यक्रममा अध्यक्ष प्रचण्डले विकास, समृद्धि र स्थायीत्वका लागि सत्ता पक्ष र प्रतिपक्ष मिलेर जानुको विकल्प नभएको बताए ।
भूकम्पपछि देश संकटमा परेको बेला आफूले सत्तापक्ष र प्रतिपक्षबीचको खाडल भत्काएको बताउँदै प्रचण्डले भने, ‘अहिले पनि सत्तापक्ष र प्रतिपक्ष बिभाजित हुनुहुँदैन, विकास, समृद्धि र स्थायीत्वको लागि सबै सत्तापक्ष हुनुपर्छ र यसमा सबै आउनुपर्छ ।’
उनले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्नसक्ने खालका शब्दहरु कतै प्रयोग गर्न नहुने धारणा समेत राखे । उनले भने, ‘प्रेस स्वतन्त्रतालाई कुठित गर्न सक्ने वा, तर, यदि लगायतका शब्द राख्न हुन्न भन्ने पक्षमा म छु, यसले भविष्यमा प्रेस स्वतन्त्रतामा अंकुश लगाउने ठाउँ दिन सक्छ ।’
उनले सत्ता पक्ष र राजनीतिक दल दललाई चेक एण्ड ब्यालेन्समा राखिराख्न पनि प्रेस स्वतन्त्रता आवश्यक रहेकोमा जोड दिए ।
अध्यक्ष प्रचण्डले युद्ध र शान्ति प्रक्रियामा कहिलेकाहिँ कमजोरी भएपनि पत्रकारितालाई कहिल्यै आग्रह वा पूर्वाग्रहमा राखेर काम नगरेको उनले स्पष्ट पारे । उनले प्रेसलाई बलियो बनाउनको लागि भनेरै आफू प्रधानमन्त्री हुँदा लोककल्याणकारी विज्ञापनलाई दोब्बर बनाएको, आफ्नै पालामा पत्रकारलाई हरेक वर्ष सम्मान गर्ने ब्यवस्था गरेको बताए ।
प्रतिक्रिया दिनुहोस्