काठमाडौं, २४ वैशाख। गृहमन्त्री रामबहादुर थापा बादलले यातायात क्षेत्रका सिण्डिकेटधारीहरु र एयरपोर्टका सुन तस्करमाथि सफलता प्राप्त गरेपछि ध्यान भनेको रक्सी नियन्त्रणमा दिने भएका छन् ।
आइतबार गृह मन्त्रालयमा मन्त्री बादललाई भेट्न पुगेका महिलाहरुको एक समूहले मदिरा नियन्त्रण हुनुपर्ने माग गरे । महिला टोलीलाई आश्वस्त पार्दै गृहमन्त्री थापाले सिंगै देशलाई मदिरामुक्त बनाउन पहल गर्ने बताए ।
देशभरीका कतिपय गाउँलाई मदिरामुक्त घोषणा गरिए पनि मदिरापान बढिरहेको र यसबाट महिला हिंसाका घटना बढेको भन्दै महिला नेतृहरुले गृहमन्त्रीको ध्यानाकर्षण गराए ।
केही सांसदका साथै अनेम संघका पदाधिकारीहरु संलग्न महिला नेतृको टोलीले गृहमन्त्रीलाई भेटेर सिण्डिकेट तोडेजस्तै जँड्याहाहरुलाई पनि ठेगान लगाउनुपर्ने माग गरे ।
यसक्रममा मन्त्री थापाले सिंगै नेपाललाई मदिरा मुक्त घोषणा गर्न सक्दा राम्रो हुने भन्दै तत्कालका लागि त्यसो गर्न नसकिए पनि सरकारले मदिरा नियन्त्रणमा जोड दिने बताए ।
छलफलमा महिला नेतृहरुले मदिराबाट सबैभन्दा बढी पीडित महिला रहेको भन्दै आफूहरुले गृहमन्त्रीको अभियानमा साथ दिन तयार रहेको बताए । उनीहरुले पहिलो चरणमा मदिरा नियन्त्रण र दोस्रो चरणमा मदिरा निषेध नै गर्नेगरी कार्ययोजना ल्याउन गृहमन्त्रीलाई सुझाव दिए रक्सी भष्ट्राचारको कारक, समृद्धिको बाधक
पछिल्लो समय बढिरहेको महिला हिंसाको कारणसमेत मदिरा नै रहेको भन्दै मदिराबाट राज्यले पाउँदै आएको कर भन्दा त्यसको प्रयोगले समाजमा ल्याएको विकृति कैयौँ गुणा घातक रहेको मन्त्री थापाले टिप्पणी गरे ।
देशभरका सबै वडाहरुमा विभिन्न राजनीतिक पार्टीआवद्ध महिला संगठनका प्रतिनिधि, जनप्रतिनिधि, आमा समूह, नागरिक समाज र सुरक्षाकर्मीहरु रहने गरी समिति गठन गरेर वडास्तरबाटै मदिरा नियन्त्रणको अभियान सञ्चालन गर्ने गृह मन्त्रालयको तयारी रहेको मन्त्री थापाले जानकारी दिए ।
यसको लागि मन्त्रालयले विस्तृत खाका बनाइरहेको भन्दै उनले यसका लागि तत्काल मन्त्रालयले ६ महिने अभियान सञ्चालन गर्ने बताए । उनले अभियानसँगै मदिरा नियन्त्रणको जागरण अभियान र जँड्याहाहरुको भण्डाफोर कार्यक्रम आयोजना गरिने बताए ।
साथै मदिरा नियन्त्रणसँगै लागुऔषध नियन्त्रणलाई पनि साथसाथै अभियानको रुपमा लैजाने तयारी मन्त्रालयले गरिरहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्