काठमाडौं, २४ असार । उत्तर कोरियाले परमाणु निःशस्त्रीकरणका लागि अमेरिकाले अनावश्यक दबाव दिएको आरोप लगाएको छ । अमेरिका र उत्तर कोरियाबीच केही समयदेखि सम्बन्ध सुध्रिएको छ । तिक्त सम्बन्धमा रहेका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तरकोरियाका नेता किम जोङ उनबीच गत जुन १२ मा परमाणु निःशस्त्रीकरणलगायत ४ बुँदामा सहमति भएको थियो ।
ती सहमतिहरू परिपालनाका लागि दुई देशबीच केही समयदेखि संवाद जारी छ । अमेरिकी विदेश मन्त्री माइक पोम्पियो वातावरण निर्माण गर्ने उद्देश्यका साथ यतिबेला उत्तर कोरियाको भ्रमणमा छन् । तर उत्तर कोरियाले अमेरिकी रवैयाप्रति असन्तुष्टि जनाएको छ ।
अमेरिकाले ट्रम्प–उनबीच भएका सहमति कार्यान्वयनको वातावरण बनिरहेको बताइरहेका बेला उत्तर कोरियाले भने आशंका व्यक्त गरेको छ । उत्तर कोरियाको सरकारी सञ्चार संस्था केसिएनले सरकारका प्रवक्तालार्इ उद्धृत गर्दै अमेरिकाको पछिल्लो कार्यशैलीले अवस्था थप बिग्रिएको जनाएको छ ।
उत्तर कोरियाले अमेरिकाको पछिल्लो रवैयालाई ट्रम्प–वार्ताको स्पिरिटविपरीत भएको आरोप लगाएको छ । ‘अमेरिका परमाणु निःशस्त्रीकरणका लागि एकोहोरो दबाव दिइरहेको छ, यसले समस्या सुल्झ्याउने भन्दा पनि बल्झाउने काम गरेको छ’, सरकारले जारी गरेको विज्ञप्ति उद्धृत गर्दै केसिएनले लेखेको छ ।
प्रतिक्रिया दिनुहोस्