काठमाडौं । नेपाली सेनाले रसुवाको बाढी प्रभावित क्षेत्रबाट बिहीबार ८०२ जनाको हवाई तथा जमिनी उद्धार गरेको छ।
नेपाली सेनाका अनुसार भदौ ११ गते बिहानदेखि टिमुरे, स्याफ्रुबेशी, धुन्चे तथा मैलुङ क्षेत्रबाट हेलिकोप्टरमार्फत ५० जना विदेशी नागरिकसहित ६०२ जनाको हवाई उद्धार गरिएको छ। यस्तै, २०० जनाको जमिनी उद्धार गरिएको सेनाले जनाएको छ।
सेनाका अनुसार वीरेन्द्र सैनिक अस्पतालबाट चिकित्सक अधिकृतसहित खटिएको मेडिकल टोलीले त्रिशूलीमा स्थापना गरिएको आपत्कालीन उपचार केन्द्रमा ३३८ जना घाइतेलाई उपचार सेवा प्रदान गरेको छ।
खोज तथा उद्धार कार्यलाई सहज बनाउन ड्रोन तथा सैनिक डगसमेत प्रयोग गरिएको छ। सेनाले चार हजार २०० भन्दा बढी जनशक्ति परिचालन गरी समन्वयात्मक रूपमा घाइतेको खोज तथा उद्धार, आपत्कालीन उपचार तथा राहत सामग्री वितरण गरिरहेको जनाएको छ।
यसैगरी, धादिङस्थित पृथ्वी राजमार्गमा बाढीले थुपारेको लेदो हटाएर सडक सञ्चालनमा ल्याउने कार्यमा समेत नेपाली सेना परिचालन भएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्