काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारी साधनको लोकेसन र यात्रुले पर्खिरहेको स्थानमा पुग्न लाग्ने अनुमानित समय मोबाइल एपबाटै थाहा पाउन सकिने भएको छ।
संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को तेस्रो बैठकमा परिषद्का अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ मोबाइल एप सार्वजनिक गरेकी हुन्।
एपमा हाल जीपीएस जडान गरिएका करिब १ हजार २०० सार्वजनिक सवारी साधनको विवरण समावेश गरिएको छ। आगामी दिनमा थप सवारी साधनलाई पनि एपमा जोड्ने योजना रहेको जनाइएको छ।
रात्रिकालीन र बिहानैदेखि सार्वजनिक यातायात
एप सार्वजनिक गर्दै अध्यक्ष डंगोलले उपत्यकाको सार्वजनिक यातायातलाई सरल, सहज र पहुँचयोग्य बनाउनुपर्नेमा जोड दिइन्।
उनले रात्रिकालीन सार्वजनिक यातायात विस्तार गर्नुका साथै बिहान सबेरै विद्यालय तथा कलेज जाने विद्यार्थीलाई लक्षित गरेर सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने बताइन्। यसका लागि स्थानीय तहबीच वित्तीय साझेदारीसहितको प्रणाली विकास गर्नुपर्ने उनको भनाइ छ।
डंगोलले सार्वजनिक यातायात कुनै एक पालिकाको मात्र विषय नभएकाले सबै स्थानीय तहबीच समन्वय आवश्यक रहेको बताइन्।
नगदरहित भाडादेखि जीपीएस सूचना प्रणालीसम्म
चालु आर्थिक वर्षका लागि सार्वजनिक यातायात सुधारसँग सम्बन्धित विभिन्न कार्यक्रम स्वीकृत भएका छन्।
स्वीकृत कार्यक्रमअनुसार:
- बस स्टपर र पिक–ड्रप प्वाइन्ट निर्धारण गरिने
- रात्रिकालीन बस सञ्चालनका लागि सर्त र सम्झौताको मोडल तयार गरिने
- नगरपालिकासँग सहकार्य गरी रात्रिकालीन सेवा विस्तार गरिने
- मुख्य बस स्टप तथा बस पार्कमा जीपीएसमा आधारित सूचना प्रणाली जडान गरिने
- नगदरहित भाडा प्रणाली लागू गर्न कानुनी पूर्वाधार तयार गरिने
- यात्रुलाई टिकट लिन प्रोत्साहित गर्न अभियान सञ्चालन गरिने
- सार्वजनिक यातायातसम्बन्धी अध्ययन तथा अनुसन्धान गरिने
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सार्वजनिक बस प्रयोग गर्ने यात्रुले सहज महसुस गर्ने प्रणाली आवश्यक रहेको बताए।
परिषद्का कार्यकारी अधिकृत कुबेर नेपालीले विगतमा अन्तरसरकारी समन्वयको अभावमा काम अघि बढाउन कठिनाइ भएको बताए। यस वर्ष पुनःसंरचनाको निर्णय भएपछि चालु आर्थिक वर्षका कार्यक्रम प्रस्ताव गरिएको उनको भनाइ छ।
यससँगै जीपीएस ट्र्याकिङ, मोबाइल एप, नगदरहित भाडा र व्यवस्थित बस स्टपजस्ता प्रविधिमा आधारित सेवाले काठमाडौँ उपत्यकाको सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्